यस श्री चन्द्रोदय माध्यमिक विद्यालय मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं. ८, बहादुरगन्ज, कमानेमा स्थानिय समाजसेवी मेजर भक्त बहादुर गुरुङको सक्रियता तथा तत्कालिन शिक्षाप्रेमी, बुद्धिजिवी, सहयोगीहरुको योगदानबाट वि.सं. २०२२ सालमा निर्मलज्योति प्रा.वि.का रुपमा स्थापना भएर वि.सं. २०३२ सालमा कानुनी मान्यता पाउँदा चन्द्रोदय प्रा.वि. हुँदै वि.सं. २०४७ सालबाट नि.मा.वि., वि.सं. २०५० सालबाट प्रस्तावित मा.वि. तथा २०६७ सालबाट उच्च मा.वि.का रुपमा स्थापित भई सञ्चालन भईरहेको यस विद्यालय नेपाल सरकार, शिक्षा मन्त्रालयबाट मिति २०७४/१२/२६ मा नमुना विद्यालय विकासका लागि छनौंट समेत भई सकेको छ । यस सामुदायिक विद्यालयले वि.सं. २०७१ पौष २२ मा स्थापना दिवशको ५० औं वार्षिकोत्सव स्वर्ण महोत्सवका रुपमा समेत मनाउन सफल भएको छ । विद्यालयलाई आजको यो अवस्था सम्म ल्याई पुर्याउन अभिभावक, विद्यार्थी, स्थानीय समूदाय, स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवि, उद्योगी, व्यावसायी लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको अहम भूमिका रहदै आएको छ र आगामी दिनमा अझ बढी सहभागिता र सहयोगको अपेक्षा गरिएको छ ।
नेपालको शैक्षिक विकासमा सामुदायिक विद्यालयहरुको विशिष्ट योगदान रहेतापनि विद्यालयहरुले प्रदान गरेका सेवाको गुणस्तरमा खासै वृद्धि हुन नसकेको कुराले सामुदायिक विद्यालयहरुप्रतिको जनविश्वास कमजोर हुन गईरहेको अवस्थामा विभिन्न क्षेत्रबाट सहयोग लिई स्थानीय स्रोत र साधनको अधिकतम उपयोगकासाथ स्रोतसाधनले सम्पन्न विद्यालयको रुपमा विकास गरी २१ औं शताब्दिको शिक्षाको अवधारणा अनुरुप राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाईको सुनिश्चित्तातर्फ डोर्याउँदै आफ्नो स्पष्ट पहिचान दिन, शिक्षामा बालबालिकाहरुको सहज पहुँच, उच्च नतिजा, प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दे व्यवस्थित पुस्तकालय, प्रयोगशाला र आधुनिक सूचना प्रविधिले युक्त प्राविधिक शिक्षालयको रुपमा समेत विकास गरी विद्यालय क्षेत्र विकास योजनाको मर्मलाई समेत आत्मसात गरी नमुना विद्यालय व्यवस्थापन निर्देशिका, २०७४ को प्रक्रिया तथा आधारहरु अवलम्बन गर्दै सामुदायिक विद्यालय प्रतिको जनविश्वास कायम गर्न, आजको समकालिन समाजमा गुणस्तरिय शिक्षा प्रदान गरी अभिभावक तथा विद्यार्थीको पहिलो रोजाईको विद्यालयको रुपमा यस सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा विकास गरी बालबालिकाहरुको सर्वाङ्गिण विकास गर्नु आजको आवश्यकता भईसकेकोले अल्पकालिन तथा दिर्घकालिन रुपमा शैक्षिक, व्यवस्थापकिय तथा भौतिक योजनाका साथ पाँच वर्षे नमुना विद्यालय सुधार गुरुयोजना तयार गरि अघि बढिरहेको छ ।
सेवा क्षेत्रका सबै बालबालिकाहरुको समन्यायिक पहुँच सुनिश्चित गरी सीप र सँस्कारयुक्त जनशक्ति उत्पादन, शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै समुचित स्रोत व्यवस्थापनका साथ नमुना विद्यालयको रुपमा स्थापित हुने छ ।
यस सामुदायिक विद्यालयलाई नमुना माध्यमिक विद्यालयको रुपमा विकास गर्न नमुना विद्यालय विकास र दूरदृष्टि समेतलाई आधार मानी निम्न उद्देश्यहरु निर्धारण गरिएका छन्
१) सिकाइमा आधुनिक पद्धतिको प्रयोगगरी व्यवहारिक, सीपयुक्त एवम् मा.वि. तहमा विज्ञान तथा प्राविधिक शिक्षा प्रदान गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने ।
२) पर्याप्त शैक्षिक सामाग्री तथा प्रविधिहरुको प्रयोग एवम् अतिरिक्त/सह क्रियाकलापहरु संचालन गरी विद्यालयको आन्तरिक सक्षमतामा सुधार ल्याउने ।
१) सुरक्षित, सिकाइ मैत्री कक्षाकोठा तथा आवश्यक सम्पूर्ण भौतिक संरचनाहरु निर्माण, पुनर्निर्माण र मर्मत एवम् संरक्षण गर्ने ।
२) सुरक्षित तथा साधन सम्पन्न पुस्तकालय, विज्ञान तथा कम्प्युटर र आवश्यक शैक्षिक उपकरणहरुसहितको प्रयोगशालाहरु निर्माण गर्ने ।
१) व्यवस्थापकीय/सुशासन पक्षलाई सुदृढिकरण गर्ने ।
२) अनुगमन प्रणालीलाई प्रभावकारी बनाउँदै सरोकारवालाहरुसँगको सम्बन्धमा सुधार गर्दै विभिन्न संघसंस्थासँग सञ्जाल निर्माण गरी सेवाक्षेत्रका विद्यालयहरुको नेतृत्व गर्ने ।